काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनाका लागि गण्डकी प्रदेश सरकारले ४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
प्रदेश सरकारले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
बाढीपछि केही नागरिक अझै सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रदेश सरकारले जनाएको छ। बाढीमा फेला परेका शवको पहिचान तथा उचित व्यवस्थापनका लागि पनि आवश्यक समन्वय भइरहेको मुख्यमन्त्री पाण्डेले बताएका छन्।
प्रदेश सरकारले बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकको उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्राथमिकता दिएको छ। घाइतेको उपचार, आश्रयविहीनका लागि सुरक्षित आवास तथा प्रभावित परिवारलाई खाद्यान्नसहित अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने काम प्रभावकारी बनाउन सम्बन्धित निकायलाई परिचालन हुन आग्रह गरिएको छ।
मुख्यमन्त्री पाण्डेले विपद्को कठिन अवस्थामा खोज, उद्धार, उपचार, आश्रय तथा राहत व्यवस्थापनका कामलाई एकीकृत र समन्वयात्मक ढंगले अघि बढाउन सबै सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न प्रदेश, स्थानीय तह, निजी क्षेत्र तथा संघसंस्थाले सहयोग घोषणा गरिरहेका छन्।

