काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि सरकारले खोजी, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरेको बताएका छन्।
विपद्को पाँचौँ दिन आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रतिकूल मौसम, जटिल भूगोल र निरन्तरको जोखिमका बाबजुद सरकारले प्रभावित नागरिकको जीवनरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
उनका अनुसार अहिलेसम्म ९ हजार ४३५ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको छ। उद्धार तथा राहतका लागि आज मात्रै थप ७२ सहित ३९४ उडान भइसकेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्रीले जानकारी दिए।
विद्युत् आयोजना क्षेत्रमा रहेका २७९ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ भने रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको छ। चिनियाँ र कोरियन विशेषज्ञ टोलीले समेत नेपाली सेनासँग समन्वय गरेर खोजी तथा उद्धार गरिरहेको उनले बताए।
त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास जारी
नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरले ब्लास्टिङसहितको उद्धार प्रयास जारी राखेका छन्।
घटनास्थलमा नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले आइतबार सुरुङको मुख्य भागमा पुगेर २×३ फिटको प्वाल बनाएर भित्र सम्पर्क गर्ने प्रयास गरे पनि कुनै प्रतिक्रिया नआएको प्रधानमन्त्रीले बताए।
त्यसपछि ठूला उपकरण प्रयोग, ब्लास्टिङ र प्वाल फराकिलो बनाउने काम एकसाथ अघि बढाइएको छ।
त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, लाङटाङ खोला र मैलुङ खोला जलविद्युत् आयोजनामा समेत नेपाली सेना तथा विदेशी विशेषज्ञ टोलीको समन्वयमा खोजी तथा उद्धार जारी रहेको उनले जानकारी दिए।
२६७ घाइतेको उपचार
बाढी प्रभावित क्षेत्रबाट २६७ जना घाइतेको उद्धार गरी स्थानीय तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये १५६ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
प्रभावित क्षेत्रमा उपचार तथा मनोपरामर्शका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट चिकित्सकसहितको टोली परिचालन गरिएको प्रधानमन्त्रीले बताए।
राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी
प्रधानमन्त्री राहत कोषमा आइतबार मध्यान्हसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको छ।
यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्रीले जानकारी दिए।
२६ आश्रयस्थल तथा राहत केन्द्र सञ्चालन
रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। आइतबार मात्रै ती केन्द्रबाट ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।
भारत र चीनलगायत छिमेकी मुलुकबाट समेत उद्धार तथा राहत सामग्री प्राप्त भइरहेको प्रधानमन्त्रीले बताए।
अन्तर्राष्ट्रिय सहयोग बढ्दै
प्रधानमन्त्रीका अनुसार एडीबीबाट ५ मिलियन अमेरिकी डलर अनुदान, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकाबाट ५ लाख डलर र अस्ट्रेलियाबाट १ मिलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता आएको छ।
भारतबाट हालसम्म चार चरणमा ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। भारतले २३० फिटको सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाउनुका साथै थप सातवटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको छ।
सञ्चार सेवा पुनः सञ्चालनतर्फ
बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा बीटीएस टावरको सेवा अवरुद्ध भएको थियो। हालसम्म नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा टावर सञ्चालनमा आइसकेका छन्।
प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन २० वटा स्याटलाइट फोनसमेत पठाइएको प्रधानमन्त्रीले बताए।
७८१ शव फेला
प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण अहिलेसम्म ७८१ जनाको शव फेला परेको छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाउने र पहिचान हुन नसकेका शवलाई कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गर्ने काम भइरहेको छ।
प्रधानमन्त्री शाहले सरकार प्रभावित प्रत्येक नागरिकको अभिभावक बनेर उभिएको दाबी गर्दै राहत, पुनःस्थापना र पुनर्निर्माणको काम पूर्ण नतिजा नआएसम्म निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

