काठमाडौं । रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धारका साथै विभिन्न जलविद्युत् आयोजनाका टनेलमा फसेकाको खोजी कार्य जारी रहेको छ।
नेपाली सेनाले हवाई साधनमार्फत जर्मन नागरिक एक जनासहित आज १०९ जनाको उद्धार गरेको जनाएको छ।
टनेल उद्धारतर्फ त्रिशूली–३ ए आयोजनाको टनेल हेड फेला परेको छ। टनेलभित्र कम्प्रेसरबाट हावा पठाउने काम भइरहेको तथा पानी निकाल्ने कार्यसमेत जारी छ। तीन वटा एक्साभेटर प्रयोग गरी पछाडितर्फ रहेको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको सेनाले जनाएको छ।
त्यस्तै, त्रिशूली–३ बी मा विज्ञसहितको टोली एक्साभेटर प्रयोग गरी खोज तथा उद्धारमा खटिएको छ। विदेशी विज्ञसहितको संयुक्त टोलीले चिलिमे हाइड्रो टनेलमा ३५ मिटरसम्म प्रवेश गरी अगाडिको भाग खुलाउने काम गरिरहेको छ।
अपर त्रिशूली–१ अन्तर्गत मैलुङमा २०० मिटर र हाँकूमा ३०० मिटरसम्म पुगेर खोजी गरिएको छ। रसुवागढी हाइड्रोको टनेलमा संयुक्त उद्धार टोली करिब २५० मिटरसम्म पुगेर टनेलको बन्द भाग फेला पारेको छ।
यस्तै, लाङटाङ हाइड्रोको टनेलमा करिब ६५ मिटरसम्म पुगेको संयुक्त उद्धार टोलीले एक शवसमेत सङ्कलन गरेको छ।
प्रभावित क्षेत्रमा ८ हजार ९ सयभन्दा बढी सैनिक परिचालन
नेपाली सेनाले प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गरी स्थानीयको अवस्था बुझ्ने तथा उद्धार आवश्यकताको मूल्याङ्कन गर्ने कार्यसमेत गरिरहेको जनाएको छ।
खोज तथा उद्धारका क्रममा सेनाको टोलीले टिमुरे क्षेत्रमा नेपाली अक्षर भएका तीन र चिनियाँ अक्षर भएका दुई गरी पाँचवटा सेफ फेला पारेको थियो। ती सेफ सशस्त्र प्रहरी बल नेपाललाई बुझाइएको छ।
नेपाली सेनाले त्रिशूली र धुन्चेमा सञ्चालन गरेका आपत्कालीन उपचार केन्द्रबाट आज मात्रै १६५ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको जनाएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।

