पोखरा । गण्डकी प्रदेश सरकारमा मन्त्रालयको जिम्मेवारी हेरफेर गरिएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फणीन्द्र देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन्।
यसअघि उक्त मन्त्रालय सम्हाल्दै आएका नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ। भौतिक पूर्वाधार मन्त्रालय यसअघि मुख्यमन्त्री पाण्डे आफैंले सम्हाल्दै आएका थिए।
देवकोटा २१ जेठ २०८१ मा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि प्रदेश सरकारमा मन्त्री बनेका थिए। उनी तत्कालीन नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेसपाका सांसद हुन्।
केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच गठबन्धन बनेपछि गण्डकी प्रदेशमा एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले १० भदौमा राजीनामा दिएका थिए। त्यसपछि प्रदेश सरकारमा मन्त्रालयको जिम्मेवारी पुनःव्यवस्थित गर्ने क्रममा पछिल्लो हेरफेर गरिएको हो।
यसअघि मन्त्री पदबाट राजीनामा दिएका देवकोटाले नयाँ जिम्मेवारीअनुसार पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन्।

