काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज तथा संशोधनको प्रक्रियामा रहेको बताएका छन्।
निजी क्षेत्रका उद्योगी, व्यवसायी तथा प्रतिनिधिहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले सरकारको मुख्य प्राथमिकता लगानी विस्तार र आर्थिक रूपान्तरण रहेको बताए।
उनले सरकारले अनावश्यक तथा पुराना कानुन खारेज गर्ने, लगानीको वातावरण सुधार गर्ने, कर प्रणालीलाई सरल तथा पारदर्शी बनाउने, व्यवसाय सञ्चालन सहज बनाउने, पुँजी बजार तथा वैकल्पिक वित्तीय साधनको विस्तार गर्ने योजना अघि बढाएको बताए।
अर्थमन्त्री वाग्लेले श्रम बजारलाई व्यवस्थित गर्ने र डिजिटल सेवामार्फत पारदर्शी प्रशासन निर्माण गर्ने स्पष्ट योजना सरकारले तय गरेको बताए।
प्रधानमन्त्री स्वयं निजी क्षेत्रका विषयमा गम्भीर रहेको उल्लेख गर्दै उनले मुख्य विषयमा प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद्का सदस्यहरूसँग निरन्तर छलफल तथा फलोअप गरिरहेको बताए।
मुलुकको आर्थिक रूपान्तरणका लागि स्वदेशी तथा विदेशी लगानीकर्ताले उच्च मनोबलका साथ लगानी विस्तार गर्न, नयाँ उद्योग स्थापना गर्न र उत्पादन बढाउन तयार हुनुपर्ने उनले बताए।
उनले उद्योग पूर्ण क्षमतामा सञ्चालन, निर्बाध व्यवसाय विस्तार र नयाँ उद्यम सिर्जना सरकारका मुख्य लक्ष्य रहेको बताए। यी क्षेत्रमा सुधार ल्याउन सके आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि र निर्यात प्रवर्द्धनले नयाँ गति लिने बताए।
निजी क्षेत्रका उद्योगी व्यवसायी तथा प्रतिनिधिले उठाएका जायज विषय तत्काल सम्बोधन गर्न अर्थ मन्त्रालयमा उच्च प्राथमिकतासहित ‘रेस्पोन्स डेस्क’ स्थापना गरिने पनि अर्थमन्त्री वाग्लेले बताए।
अब सरकारी काममा फाइल थन्किने अवस्था अन्त्य गर्दै छिटो निर्णय र समाधान हुने कार्यसंस्कृति विकास गरिने उनले बताए। कानुन संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारका काम समयबद्ध योजनाअनुसार अघि बढाइने पनि उनले बताए।

