भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले देशभरका प्रदर्शनका क्रममा पक्राउ परेका सबै प्रदर्शनकारीलाई तत्काल रिहा गर्न माग गरेको छ। आन्दोलनकारी समूहले आफ्ना माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ।
परीक्षामा प्रश्नपत्र चुहावट तथा अन्य अनियमितताविरुद्ध आन्दोलन गर्दै आएको **कक्रोच जनता पार्टी (सीजेपी)**ले असम, पश्चिम बंगाल, बिहारलगायत विभिन्न राज्यमा विद्यार्थीहरूलाई हिरासतमा राखिएको जनाएको छ।
समूहले सोमबार जारी गरेको विज्ञप्तिमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा नगर्ने वा उनीहरूमाथि लगाइएका आपराधिक मुद्दा फिर्ता नलिने हो भने त्यसले सरकारप्रतिको जनविश्वास कमजोर हुने उल्लेख गरेको छ।
शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएको दुई दिनपछि आन्दोलनकारी समूहले यस्तो माग सार्वजनिक गरेको हो। प्रतिस्पर्धात्मक परीक्षामा पटक–पटक प्रश्नपत्र चुहावट र अन्य अनियमितता भएको भन्दै विद्यार्थी तथा युवाहरूले देशभर आन्दोलन चर्काएका थिए।
सीजेपीले प्रदर्शनकारीमाथि दण्डात्मक कारबाही नगर्ने सरकारी आश्वासन कार्यान्वयन नभएको आरोप पनि लगाएको छ।
३० वर्षीय अभिजित दिपकेले गत मे महिनामा सुरु गरेको उक्त आन्दोलनले सामाजिक सञ्जालमा व्यापक समर्थन पाएको छ। शिक्षामन्त्रीको राजीनामा र परीक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै गत साता नयाँदिल्लीसहित विभिन्न सहरमा विद्यार्थीहरूको नेतृत्वमा प्रदर्शन भएको थियो।
गत जुलाई २० मा नयाँदिल्लीको जन्तरमन्तरबाट संसद् भवनतर्फ अघि बढ्ने क्रममा प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्यास प्रहार र लाठीचार्ज गर्दै भीड नियन्त्रणमा लिएको थियो। उक्त घटनामा धेरै प्रदर्शनकारीलाई हिरासतमा लिइएको थियो।
यसैबीच सोमबार भारतीय संसद्मा पनि यो विषय उठेको छ। विपक्षी सांसदहरूले प्रदर्शनकारीमाथि भएको प्रहरी कारबाहीबारे सरकारसँग जवाफ माग्दै सदनको कामकारबाही अवरुद्ध गरेका थिए।

