सामाजिक अभियन्ता तथा राजनीतिक विश्लेषक किरण बिकले शिक्षामन्त्री र उहाँकी श्रीमतीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भइरहेका व्यक्तिगत टिप्पणी, मिम तथा दुर्व्यवहारप्रति आपत्ति जनाउँदै यस्ता गतिविधि रोक्न आग्रह गरेका छन्।
बिकले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिको नीति, निर्णय र कार्यसम्पादनमाथि आलोचना गर्न पाउने अधिकार भए पनि निजी जीवन, परिवार र व्यक्तिगत सम्बन्धलाई आक्रमणको विषय बनाउन नहुने बताएका छन्।
उनले शिक्षामन्त्रीको काम, नीति र निर्णयमाथि तथ्यपरक आलोचना तथा समीक्षा लोकतान्त्रिक अभ्यासको हिस्सा भएको उल्लेख गर्दै परिवार वा व्यक्तिगत जीवनलाई जोडेर गरिने आक्रमणले गलत संस्कृतिको विकास गर्ने बताएका छन्।
बिकले सामाजिक सञ्जालमा फैलिने गलत सामग्रीले व्यक्तिको प्रतिष्ठा, करियर, मानसिक अवस्था र पारिवारिक जीवनमा दीर्घकालीन असर पार्न सक्ने बताएका छन्। उनले कन्टेन्ट क्रिएटर, मिम पेज तथा सामाजिक सञ्जाल सञ्चालकहरूलाई सामग्री प्रकाशनअघि त्यसको प्रभावबारे गम्भीर हुन आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जाललाई स्वस्थ, सभ्य र युवामैत्री बनाउनेतर्फ सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने बताएका छन्। निरन्तर व्यक्तिगत लखेटाइ र अपाच्य सामग्रीले व्यक्तिको मानसिक स्वास्थ्यमा समेत असर पार्न सक्ने उनको भनाइ छ।
बिकले शिक्षामन्त्री र उहाँकी श्रीमतीमाथि भइरहेको व्यक्तिगत प्रकृतिको सामाजिक सञ्जाल आक्रमण नियोजित हुन सक्ने आशंका पनि व्यक्त गरेका छन्। यद्यपि, त्यस्तो निष्कर्षमा पुग्न तथ्य र प्रमाण आवश्यक रहेको उनले बताएका छन्।
उनले सार्वजनिक पदमा रहेका व्यक्तिको काम, नीति र निर्णयमाथि हुने स्वस्थ आलोचनालाई समर्थन गर्दै व्यक्तिगत आक्रमण, चरित्रहत्या र परिवारलाई निशाना बनाउने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि उपयुक्त नभएको बताएका छन्।

