काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ (भारु) २०० र ५०० दरका नोटको कारोबार गर्न सकिने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै नेपाली तथा भारतीय नागरिकले सन् २०१६ नोभेम्बर ९ पछि निष्कासन भई चलनचल्तीमा रहेका भारु २०० र ५०० दरका नोट प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारसम्म ल्याउन, लैजान तथा सटही गर्न सक्ने जनाएको हो।
सूचनाअनुसार, उक्त व्यवस्था प्रचलित कानुनी व्यवस्थाअनुसार लागू हुनेछ। यससँगै नेपालमा नयाँ डिजाइनका भारु २०० र ५०० दरका नोटको वैधानिक कारोबारको बाटो खुलेको छ।
राष्ट्र बैंकले यसअघि २०८२ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सन् २०१६ नोभेम्बर ९ भन्दा अघि चलनचल्तीमा रहेका पुराना भारु ५०० र १००० दरका नोटको कारोबार गर्न नपाइने व्यवस्था यथावत् रहेको पनि स्पष्ट पारेको छ।
यस्तै, नेपाली नागरिकले भारतबाहेक अन्य कुनै पनि मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था भने यथावत् कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

