काठमाडौं । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा अब नेपाल सरकारका मुख्यसचिवमार्फत सम्बोधन हुने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिअनुसार स्थानीय तहसँग सम्बन्धित गुनासाहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न मुख्यसचिवमार्फत आवश्यक व्यवस्था मिलाइएको हो।
विज्ञप्तिमा स्थानीय तहमा हुने सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, ठेक्कापट्टा तथा निर्माण कार्यमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिसम्बन्धी गुनासाहरू ‘हेलो सरकार’ पोर्टल तथा अन्य सुनुवाइका विभिन्न माध्यमबाट निरन्तर प्राप्त भइरहेको उल्लेख गरिएको छ।
‘स्थानीय तहमा हुने सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, ठेक्कापट्टा र निर्माण कार्यमा अनियमितता, भ्रष्टाचार र बेथितिलगायतका गुनासोहरू हेलो सरकारको पोर्टल तथा सुनुवाइका विभिन्न पोर्टलमार्फत प्राप्त भइरहेकाले उल्लेखित गुनासोहरू नेपाल सरकारका मुख्यसचिवमार्फत प्रभावकारी रूपमा सम्बोधन हुने व्यवस्था मिलाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
सरकारले स्थानीय तहसँग सम्बन्धित जनगुनासाको छिटो सुनुवाइ, समन्वय र प्रभावकारी समाधानका लागि यो व्यवस्था लागू गरिएको जनाएको छ।

