काठमाडौं । दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूपन्देही सैनामैना नगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने २९ वर्षीय ओम प्रकाश चौधरी रहेका छन् ।
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै तीन जनासँगबाट १६ लाखबढी लिएको आरोपमा चौधरीलाई पक्राउ गरेको हो ।
ओम प्रकाशले तीन जना पीडितबाट १६ लाख ९२ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ठमेलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।