काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ ।
द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान सवा ३ः४० बजे बा२क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो । त्यसको ठक्करबाट दुई जना बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको आश्रय स्थलका फाउण्डर अध्यक्ष युवराज थापाले जानकारी दिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार टहरोमा ६१ जना बस्दै आएका थिए । टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए, जसमध्ये तीन जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा अन्दाजी २१ वर्षीय आकाश र सुमन, यसैगरी अन्दाजी ४५ वर्षीय हरिजन रहेका छन् । उनीहरूको वास्तविक पहिचान भने थाहा छैन । यी नाम पनि संस्थाले राखेको हो ।
दुर्घटनामा घाइते भएका उनीहरूको नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिहान ४:३० बजे मृत्युको एसपी बोहराले जानकारी दिए ।
उनका अनुसार प्रहरीले टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ का २५ वर्षीय सागर माझीलाई नियन्त्रणमा लिएको छ। यसबारे थप अनुसन्धान भैरहेको उनले बताए ।