काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र आवासीय चिकित्सकबीच ३ वटा विषयमा सहमति भएपछि आन्दोलन फिर्ता भएको छ । शनिबार काठमाडौंमा मन्त्री पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलपछि सहमति जुटेको छ ।
स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगको १६औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरूका लागि यथाशीघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरूमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्न सक्ने कुरा स्वास्थ्य मन्त्रालय र नसकेका कुरालाई निर्देशन गरेर पठाउने ३ वटा सम्झौता भएसँगै आवासीय चिकित्सकहरू आन्दोलन छोड्न सहमत भएका छन् ।
मन्त्री पौडेलले आवासीय चिकित्सकहरूका मागहरू पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यसको कार्यान्वयन गर्ने सहमति भएको जानकारी दिए । ‘नेपाल चिकित्सक संघको नेतृत्वमा आवासीय चिकित्सकहरूको आन्दोलन भएको थियो । त्यो बारेमा हामीले पटक–पटक छलफल गर्यौं र स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित केही विषयहरू थिए । त्यसको बारेमा हामीले २ पक्षीय समझदारी गरेर त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता स्वास्थ्य मन्त्रालयले गरेको छ । त्यो प्रतिबद्धता गरिसकेपछि नेपाल चिकित्सक संघ यो आन्दोलन उहाँहरूको घोषित कार्यक्रम थियो, त्यसलाई उहाँहरू फिर्ता लिन तयार हुनुभएको छ । उहाँहरूसँग भएको सम्झौतालाई हामीले इमान्दारितापूर्वक कार्यान्वयन गर्नेछौं,’ उनले भने, ‘केही विषयहरू जुन चिकित्सा शिक्षा आयोगले निर्णय गरेको थियो, त्यसलाई कार्यान्वयन छिटो नभएको, सहज ढंगबाट नभएको विषय उहाँहरूको पछिल्लो विषय थियो । त्यसलाई छिटो कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिष्ठान अन्तर्गतका कलेजहरू पनि क्रमशः कार्यान्वयन गर्न तयार भएको स्थिति छ । कतिपय कलेजमा फर्किएर काम सुरु भइसकेको छ । जहाँ आवासीय चिकित्सकहरू फर्किने स्थिति बनेको छैन, त्यहाँ त्यो वातावरण बनाइदिन सबै कलेजलाई अनुरोध गर्न चाहन्छौं । आपसी समझदारीमा टुंगिने स्थिति बनेको छ । चिकित्सा शिक्षा आयोगले गरेका निर्णयहरू सबै कार्यान्वयन गर्ने गरी स्वास्थ्य मन्त्रालयले वातावरण बनाउनेछ ।’
आवासीय चिकित्सकहरूले निर्वाह भत्ता आठौं तहसरह हुनुपर्ने, आवासीय चिकित्सकहरूको सुत्केरी बिदा, बिरामी बिदा, ड्युटी आवरको कुरा पनि उठाएको उनले बताए । अहिले आन्दोलनपछि निजी मेडिकल कलेजबाट पनि आठौं तहसरह भत्ता दिने प्रतिबद्धता आएको र विभिन्न कलेजमा आवासीय चिकित्सकहरू काम गर्न फर्किसकेका उनले बताए ।