काठमाडौं । देशको असामान्य राजनीतिक परिस्थितीबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ। सहमति अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आजै राति ९ बजे कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउने भएका छन्।
राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलले जानकारी दिँदै शीतलनिवासमा आज साँझ भएको छलफलपछि अन्तिम सहमति जुटेको पुष्टि गरेका छन्। यसअघि, नयाँ सरकार गठनका लागि कार्की नेतृत्वको टोली शीतलनिवास पुगेको थियो। छलफलमा कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल पनि सहभागी भएका थिए।
अन्तरिम सरकार गठनमा सहमति जुटे पनि संसद् विघटन गर्ने वा नगर्ने विषयमा शुरुमा मतभेद रहँदै आएको थियो। तर अन्ततः संविधान विघटन गर्ने विषयमा समेत सहमति बनेको स्रोतले जनाएको छ।
भदौ २३ देखि जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पदबाट राजीनामा दिएका थिए। असामान्य परिस्थितिलाई ध्यानमा राख्दै उक्त राजीनामा राष्ट्रपति पौडेलले सोही दिन स्वीकृत गरेका थिए।