काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारामलाई सरल, सहज र सेवाग्राहीमैत्री बनाउन पाँच सदस्यीय समिति गठन गरेको छ।
मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागको जग्गा प्रशासन शाखाका प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा समिति गठन गरेको जनाएको छ। समितिलाई हाल प्रयोगमा रहेका विभिन्न सेवा सम्बन्धी लिखित फारामहरूको अध्ययन, समीक्षा तथा आवश्यक परिमार्जन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफैँ भर्न सक्ने ढाँचामा सरलीकरण गर्ने जिम्मेवारी दिइएको छ।
मन्त्रालयका अनुसार समितिले फाराम सरलीकरण सम्बन्धी विस्तृत प्रतिवेदन १५ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्नेछ। प्रतिवेदनका आधारमा आवश्यक सुधारसहितका नयाँ तथा सरलीकृत फाराम कार्यान्वयनमा ल्याइने तयारी गरिएको छ।
हाल भूमि प्रशासन कार्यालयबाट सेवा लिन जाने धेरै सेवाग्राहीले फाराम बुझ्न र भर्न कठिनाइ हुने भएकाले लेखापढी व्यवसायी वा अन्य व्यक्तिको सहयोग लिनुपर्ने अवस्था रहेको मन्त्रालयको भनाइ छ। यही समस्यालाई समाधान गर्दै सेवाग्राहीलाई आत्मनिर्भर बनाउने उद्देश्यले समिति गठन गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले फारामलाई स्पष्ट, सरल र प्रयोगमैत्री बनाइएपछि भूमि प्रशासन कार्यालयबाट प्रदान हुने सेवामा सहजता आउने, सेवाग्राहीको समय र खर्च दुवै बचत हुने तथा सेवा प्रवाह थप प्रभावकारी बन्ने अपेक्षा गरेको छ।

