काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी तटबन्ध भत्काएको भनिएको घटनाको विषय राष्ट्रिय सभामा उठेको छ। सांसदहरूले सीमा सुरक्षामा देखिएको कमजोरीप्रति सरकारको ध्यानाकर्षण गराउँदै स्पष्ट जवाफ र प्रभावकारी कूटनीतिक पहलको माग गरेका छन्।
सोमबार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विष्णुबहादुर विश्वकर्माले सीमा क्षेत्रमा भइरहेका घटनाले नेपालको सार्वभौमिकता र सीमा सुरक्षामाथि गम्भीर प्रश्न उठाएको बताए।
उनले सुस्ता मात्र नभई लिपुलेक–लिम्पियाधुरालगायत क्षेत्रमा पनि यस्ता गतिविधि दोहोरिँदै आएको उल्लेख गर्दै सरकारले कडा कूटनीतिक पहल गर्नुपर्ने धारणा राखे।
सांसद विश्वकर्माले लिपुलेक–लिम्पियाधुरामा नेपाली भूमिमा भारतीय सवारी सञ्चालन भएको र सुस्तामा निर्माणाधीन तटबन्ध भत्काइएको घटनालाई जोड्दै सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताए। उनले यस्ता गतिविधि दोहोरिन नदिन तत्काल आवश्यक सुरक्षा र कूटनीतिक कदम चाल्न सरकारसँग माग गरे।
जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरीले पनि सुस्ता घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको सुरक्षा उच्च प्राथमिकतामा राख्नुपर्ने बताइन्।
आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय एसएसबीका सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी तटबन्ध भत्काएको आरोप लागेको थियो। स्थानीयका अनुसार सादा पोसाक र हतियारसहित ठूलो संख्यामा एसएसबीका सदस्य उक्त क्षेत्रमा पुगेका थिए। घटनाका सम्बन्धमा सरकारले आधिकारिक धारणा सार्वजनिक गर्ने र आवश्यक कूटनीतिक पहल गर्ने अपेक्षा सांसदहरूले व्यक्त गरेका छन्।

