काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जसहित विभिन्न स्थानमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही गरिने बताएका छन्।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले पछिल्ला घटनापछि उत्पन्न परिस्थितिलाई सरकारले गम्भीर रूपमा लिएको उल्लेख गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सबै राज्य संयन्त्र परिचालन गरिएको जानकारी दिए।
घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे। घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने र आवश्यक सबै स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको पनि उनले बताए।
प्रधानमन्त्रीका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाइसकेको छ। अनुसन्धान निष्पक्ष र पारदर्शी हुने तथा कानुन उल्लंघन गर्ने जोसुकैलाई पनि उन्मुक्ति नदिइने उनले स्पष्ट पारे।
उनले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ पारिएको, सर्वदलीय बैठकमार्फत राजनीतिक सहमति खोजिएको तथा स्थानीय जनप्रतिनिधि, नागरिक समाज र धार्मिक अगुवासँग निरन्तर संवाद भइरहेको जानकारी दिए। गृहमन्त्री स्वयं प्रभावित क्षेत्रमा पुगेर अवस्था अनुगमन गरिरहेको र राष्ट्रिय सुरक्षा परिषद्ले पनि आवश्यक निर्णय गरिसकेको उनले बताए।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत अपुष्ट सूचना, अफवाह वा समुदायबीच वैमनस्य फैलाउने सामग्री प्रचार नगर्न सबैसँग आग्रह गरे। आधिकारिक निकायबाट जारी भएका सूचनामात्र विश्वास गर्न अनुरोध गर्दै उनले यस्ता गतिविधिले सामाजिक सद्भावमा थप असर पुर्याउन सक्ने चेतावनी दिए।
उनले प्रत्येक नागरिकको जिउधनको सुरक्षा गर्नु सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै शान्ति भंग गर्ने, हिंसा भड्काउने र सदियौँदेखि कायम रहेको सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए।
प्रधानमन्त्रीले नेपालको संविधानले सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा स्वतन्त्र रूपमा पालन गर्ने अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै कुनै एक घटनालाई आधार बनाएर कुनै सम्पूर्ण समुदायलाई दोषी ठहर गर्न नहुने धारणा राखे।
सम्बोधनको अन्त्यमा उनले सबै नागरिकलाई संयमता अपनाउन, एकअर्काप्रति विश्वास कायम राख्न र राष्ट्रिय एकतालाई बलियो बनाउन आग्रह गर्दै वर्तमान चुनौतीलाई सामूहिक प्रयासबाट पार गर्नुपर्नेमा जोड दिए।

