अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता हुने संकेत गर्दै इरानविरुद्धको सैन्य आक्रमण अस्थायी रूपमा स्थगित गरिएको घोषणा गरेका छन्। सामाजिक सञ्जाल ट्रुथ मार्फत ट्रम्पले इरान र मध्यपूर्वका केही मुलुकले सम्झौताको ढाँचामा सहमति जनाउँदै आक्रमण रोक्न अनुरोध गरेपछि यो निर्णय लिइएको बताएका हुन्।
ट्रम्पका अनुसार प्रस्तावित सम्झौतामा रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्ग पूर्ण रूपमा खुला राख्ने र इरानको आणविक कार्यक्रमबाट उत्पन्न जोखिम अन्त्य गर्ने विषय समावेश गरिएको छ। उनले आवश्यक परे अमेरिकासँग इरानविरुद्ध कारबाही गर्ने पर्याप्त सैन्य क्षमता रहेको उल्लेख गर्दै कूटनीतिक समाधानलाई प्राथमिकता दिइएको बताए।
यता, इरानी विदेशमन्त्री अब्बास अराघाचीले टर्की, पाकिस्तान र साउदी अरेबियाका विदेशमन्त्रीसँग टेलिफोन संवाद गर्दै अमेरिका वा इजरायलबाट हुने कुनै पनि सैन्य आक्रमणको कडा जवाफ दिइने चेतावनी दिएका छन्। इरानको ऊर्जा पूर्वाधारमाथि सम्भावित आक्रमणको तयारीबारे समाचार सार्वजनिक भएपछि तेहरानले यस्तो प्रतिक्रिया दिएको हो।
यसैबीच, साउदी अरेबियाले अमेरिका र इरानबीचको तनाव थप नचर्काउन दुवै पक्षलाई वार्तामार्फत समाधान खोज्न आग्रह गर्दै आएको छ। क्षेत्रीय तनावले ऊर्जा आपूर्ति र खाडी क्षेत्रको स्थायित्वमा गम्भीर असर पार्न सक्ने भन्दै साउदी पक्षले कूटनीतिक पहललाई निरन्तर समर्थन गरिरहेको छ।

