काठमाडौं । पाकिस्तानको ब्रोड पिक (८,०४७ मिटर) क्षेत्रमा हिमपहिरोमा ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित अन्य आरोहीहरूको शव उद्धार कार्य तीव्र पारिएको छ। उद्धारमा खटिएको ग्राउन्ड टिमले आइतबार पहिलो चरणमा घटनास्थलबाट शवहरूलाई सुरक्षित रूपमा क्याम्प–१ सम्म ल्याउने तयारी गरेको जनाएको छ।
उद्धार टोलीका अनुसार सोमबार शवहरूलाई जापानी क्याम्पसम्म पुर्याउने योजना रहेको छ। त्यसपछि मौसम र हिमाली क्षेत्रको अवस्था अनुकूल भए हेलिकप्टरमार्फत शवहरूलाई सुरक्षित स्थानमा सारिनेछ।
उद्धार टोलीले दिवंगत आरोहीहरूको शव सम्मानपूर्वक उद्धार गरी स्वदेश फर्काउने लक्ष्यका साथ अभियान सञ्चालन भइरहेको जनाएको छ। दुर्गम भूगोल र प्रतिकूल मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि टोलीले अभियानलाई निरन्तरता दिएको छ।
गत बिहीबार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा पर्ने ब्रोड पिक क्षेत्रमा गएको भीषण हिमपहिरोमा निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय आरोही टोली बेपत्ता भएको थियो। शनिबार सबै आरोहीको निधन भएको पुष्टि भएपछि शव खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको हो।

