काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को पहिलो बैठक बिहीबार सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले मुलुकको राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा अवस्थाको समीक्षा गर्दै आगामी सुरक्षा रणनीति र समन्वयात्मक कार्ययोजनाबारे विस्तृत छलफल गरेको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रक्षासचिव केदारनाथ शर्माले देशको समग्र शान्ति–सुरक्षा, विद्यमान चुनौती र त्यसको प्रभावकारी व्यवस्थापनका उपायबारे परिषद्मा गम्भीर छलफल भएको जानकारी दिए।
उनका अनुसार संघीय सरकारसँगै प्रदेश र स्थानीय तहबीच समन्वयलाई थप प्रभावकारी बनाउँदै देशभर शान्ति, सुरक्षा र स्थायित्व कायम गर्ने विषयमा बैठकले जोड दिएको छ।
बैठकमा हालै सुनसरीमा भएको घटनाको समीक्षा गर्दै त्यहाँको सुरक्षा व्यवस्था थप मजबुत बनाउने तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपायबारे पनि छलफल भएको रक्षासचिव शर्माले बताए।
यसैगरी, वर्षायाममा बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का घटनामा उद्धार, राहत र विपद् प्रतिकार्यलाई अझ प्रभावकारी, तीव्र र समन्वयात्मक ढंगले सञ्चालन गर्ने विषयमा पनि परिषद्ले आवश्यक निर्णय गरेको जनाइएको छ।
राष्ट्रिय सुरक्षा परिषद्को यो पहिलो बैठकले सुरक्षा चुनौतीको सामना गर्न सबै तहका सरकारबीच समन्वय सुदृढ गर्ने र विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण निर्णय गरेको सरकारको भनाइ छ।

