काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज लगायतका क्षेत्रमा देखिएको विषम परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।
बिहीबार जारी गरेको अपिलमा राष्ट्रपति पौडेलले सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक र जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप तथा भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको उल्लेख गरेका छन्। उनले यही परम्परालाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन्।
राष्ट्रपतिले वर्तमान विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउँदै नागरिकले शान्तिपूर्ण रूपमा जीवनयापन गर्न सक्ने वातावरण सिर्जना गर्न सरकारबाट आवश्यक प्रयास हुने विश्वास व्यक्त गरेका छन्। साथै, समुदायबीच एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम राख्न सबैलाई संयम अपनाउन आग्रह गरेका छन्।
अपिलमा राष्ट्रपति पौडेलले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित सबै पक्षलाई जिम्मेवार बन्न पनि आग्रह गरेका छन्।
राष्ट्रपतिले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

