काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी घटनापछि उत्पन्न शान्ति–सुरक्षाको अवस्थाबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूसँग छुट्टाछुट्टै ब्रिफिङ लिएका छन्।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो सुरक्षा अवस्था, चुनौती र सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आमनागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव बिथोल्ने प्रयास गर्ने तत्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले शान्ति–सुरक्षा कायम राख्ने विषयमा कुनै सम्झौता नगर्न आग्रह गर्दै गृह मन्त्रालयअन्तर्गतका नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उच्च सतर्कताका साथ परिचालन गर्न निर्देशन दिएका छन्।
सुनसरी घटनापछि देशका विभिन्न स्थानमा सुरक्षा सतर्कता बढाइएका बेला प्रधानमन्त्रीले सुरक्षा निकायका नेतृत्वसँग प्रत्यक्ष छलफल गरी वस्तुस्थितिको समीक्षा गर्दै आवश्यक निर्देशन दिएका हुन्।

