काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनापछि प्रदर्शन चर्किँदै गएपछि मधेश प्रदेशका विभिन्न जिल्लामा प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगर क्षेत्रमा बिहीबार अपराह्न ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लगाएको जनाएको छ।
प्रशासनका अनुसार लहान नगरपालिकाभित्र पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम), तथा दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गदेखि ५०० मिटर क्षेत्रभित्र कर्फ्यु लागू गरिएको छ।
यस्तै, सिरहाकै गोलबजार नगरपालिकामा पनि पूर्ण रूपमा आवतजावत तथा भेला हुन रोक लगाइएको छ। कर्फ्यु क्षेत्र पूर्वतर्फ कसाह खोला, पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ सैनिक चोक र दक्षिणतर्फ राजेन्द्र प्रसाद राजकीय बहुमुखी क्याम्पस आसपाससम्म तोकिएको छ।
उता, धनुषाको जनकपुर उपमहानगरपालिकाको सहरी क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जारी गरेको आदेशअनुसार बिहीबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना नभएसम्म कर्फ्यु लागू हुनेछ।
सुनसरीको कप्तानगन्जमा भएको घटनापछि विभिन्न स्थानमा प्रदर्शन बढ्न थालेसँगै सम्भावित अप्रिय घटना रोक्न र शान्ति–सुरक्षा कायम राख्न स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको जनाएको छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पालना गर्न तथा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।

