काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा खाना पकाउने ग्यासको आपूर्ति नियमित भइसकेको भन्दै कम्तीमा एक महिना पुग्ने ग्यास मौज्दात भएका उपभोक्तालाई तत्काल सिलिन्डर भर्न लाइनमा नबस्न आग्रह गरेको छ।
संघले मंगलबार जारी गरेको विज्ञप्तिमा विगतमा तेस्रो मुलुकमा भएको अप्रत्याशित द्वन्द्वका कारण एलपी ग्यास आयात प्रभावित हुँदा उपभोक्तालाई आधा सिलिन्डर (७.१ केजी) मात्रै उपलब्ध गराइएको स्मरण गराएको छ। तर, अहिले अन्तर्राष्ट्रिय परिस्थिति सामान्य बन्दै गएपछि ग्यास आयात पुनः नियमित भएको र अबदेखि पूर्ण क्षमताको १४.२ केजी सिलिन्डर नै वितरण भइरहेको जनाएको छ।
संघका अनुसार बजारमा ग्यास अभाव देखिनुको मुख्य कारण सबै उपभोक्ताले एकैपटक खाली सिलिन्डर भर्न खोज्नु हो। यस्तो अवस्थाले कृत्रिम अभाव सिर्जना हुने भएकाले पर्याप्त मौज्दात भएका उपभोक्तालाई केही समय प्रतीक्षा गर्न आग्रह गरिएको छ।
संघले ग्यास आपूर्ति व्यवस्थापनका लागि नेपाल आयल निगम, उद्योगी, विक्रेता र उपभोक्ताबीच समन्वय आवश्यक रहेको उल्लेख गरेको छ। साथै, विक्रेतालाई उपलब्ध ग्यास पारदर्शी र व्यवस्थित रूपमा आम उपभोक्ताको प्राथमिकताका आधारमा वितरण गर्न निर्देशन दिएको छ।
यस्तै, उद्योगहरूलाई बजारमा नियमित रूपमा ग्यास आपूर्ति गर्न र नेपाल आयल निगमलाई बजार पूर्ण रूपमा सहज नभएसम्म आवश्यकताअनुसार नियमितभन्दा बढी ग्यास आयात गर्न पनि संघले आग्रह गरेको छ।
संघले उपभोक्तालाई अनावश्यक त्रासमा नपरी संयमता अपनाउन र आवश्यक परेमा मात्रै ग्यास भर्न आग्रह गर्दै बजारमा ग्यासको आपूर्ति सहज बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।


