काठमाडौं । ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’का निर्देशक सुब्रत आचार्य आठ वर्षपछि पुनः फिल्म निर्देशनमा फर्किने भएका छन्। उनले आफ्नो तेस्रो निर्देशकीय फिल्मका रूपमा ‘पच्चीस पच्चीस’ निर्माण गर्ने घोषणा गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा फिल्मको औपचारिक घोषणा गर्दै निर्माण टिमले मुख्य कलाकारहरूलाई समेत सार्वजनिक गरेको छ।
कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा अबिषेक खड्का, खुसी कार्की र प्रमोद अग्रहरी मुख्य भूमिकामा देखिनेछन्। यस फिल्ममार्फत चर्चित कमेडियन अमित सुब्बा (भक्ते भाइ) ले नेपाली चलचित्रमा डेब्यू गर्ने भएका छन्। दार्जिलिङ निवासी अमित घोषणा कार्यक्रममा ‘द राइजिङ ब्वाइज इन्टरटेनमेन्ट’को टोलीसहित उपस्थित थिए।
फिल्ममा कर्ण कार्कीको लगानी रहनेछ भने अजय न्यौपाने र धीरेन्द्र लाल कर्ण सह–निर्माताका रूपमा रहेका छन्। दीपेन्द्र गौतम (माइकल) कार्यकारी निर्माता हुन्। लाइन प्रोड्युसरमा प्रकाश कँडेल र मनिषा राउत रहेका छन्।
फिल्मको कथा सुब्रत आचार्य र जयाले तयार पारेका हुन् भने पटकथा सुशील देवकोटाले लेखेका छन्। छायांकन हरि हुमागाईंले गर्नेछन्।
कार्यक्रममा निर्देशक आचार्यले ‘पच्चीस पच्चीस’ नेपाली समाज र परिवेशसँग मेल खाने कथा भएको बताए। उनले शीर्षकको अर्थ स्पष्ट पार्दै नेपाली समाजमा ‘सयलाई ५०–५०’ र ‘५० लाई २५–२५’ भन्ने प्रचलित अभिव्यक्तिबाट प्रेरित भएर फिल्मको नाम राखिएको बताए।
उनका अनुसार फिल्मको कथा र शीर्षकबीच गहिरो सम्बन्ध रहेको छ, जसको वास्तविक अर्थ टिजर र ट्रेलर सार्वजनिक भएपछि अझ स्पष्ट हुने विश्वास व्यक्त गरे।

