काठमाडौं । भुवन केसी निर्देशित नेपाली फिल्म ‘बाटुलो जून’ले सुपरहिटको मान्यता पाएको छ । देशको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले बुधबार आफ्नो आधिकारिक वेबसाइटमार्फत फिल्मलाई ‘सुपरहिट’ घोषणा गरेको हो ।
कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले क्यूएफएक्सका हलबाट मात्रै दुई करोड ५० लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ । क्यूएफएक्सले प्रदर्शनको पहिलो दुई सातामा आफ्ना हलबाट उक्त रकमभन्दा बढी कमाइ गर्ने फिल्मलाई सुपरहिटको ट्याग दिने गरेको छ ।
‘बाटुलो जून’ले प्रदर्शनको पहिलो साताको अवधि पूरा नहुँदै सुपरहिटको मापदण्ड पार गरेको हो । फिल्मले प्रदर्शनको सुरुवातदेखि नै उत्साहजनक व्यापार गरिरहेको छ । यसको आधिकारिक बक्स अफिस कमाइ भने सोमबार सार्वजनिक हुने जनाइएको छ ।
यसअघि रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ले प्रदर्शनको तेस्रो दिनमै क्यूएफएक्सबाट सुपरहिटको ट्याग पाएको थियो । त्यस्तै, यसै वर्ष प्रदर्शनमा आएका ‘गौंथली’ र ‘पेन्सन पट्टा’ले दोस्रो सातामा यस्तो मान्यता प्राप्त गरेका थिए ।
अनमोल केसी र प्रिन्सी खतिवडा मुख्य भूमिकामा रहेको ‘बाटुलो जून’ प्रिन्सीको डेब्यू फिल्मसमेत हो । यसै फिल्ममार्फत उनले अभिनेत्रीका रूपमा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् ।
फिल्ममा भुवन केसी, गरिमा पन्त, न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना र लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ ।
विसं २०४० को दशकको नेपाली सामाजिक तथा सांस्कृतिक परिवेशमा आधारित फिल्मले तत्कालीन समयको प्रेम, सामाजिक अवस्था र जीवनशैलीलाई पर्दामा प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा जिया केसी र भविष्य खड्का निर्माता तथा विवेक थापा सहनिर्माता रहेका छन् ।

