काठमाडौं । कमिल मिशाराको कीर्तिमानी शतकको मद्दतमा चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर–२ मा प्रवेश गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको एलिमिनेटर खेलमा चितवनले काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गरेको हो ।
चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो । काठमाडौंका विलियम बोसिस्टोले सर्वाधिक ३७ तथा भीम सार्कीले अविजित ३० रन बनाए ।
चितवनका रिजन ढकालले चार तथा उसामा मिरले तीन विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको चितवनले चार विकेट गुमाएर २०४ रन बनाएको थियो । उसका लागि कमिल मिशाराले ५९ बलमा १० छक्का र पाँच चौकासहित अविजित १२० रन बनाए । कप्तान रवि बोपाराले ५३ रनको योगदान दिए ।
यस जितसँगै चितवनले फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । पराजित काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ ।

