काठमाडौं । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर पदमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेकी हुन् । यद्यपि, उनले कुन राजनीतिक दलबाट वा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन लड्ने भन्नेबारे भने खुलाएकी छैनन् ।
श्रेष्ठले फेसबुकमा लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’
श्रेष्ठले गत वैशाख ४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । राजीनामापछि उनी कुनै पनि राजनीतिक दलमा आबद्ध छैनन् ।

