काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठन परिचालनलाई मुख्य एजेन्डा बनाएर राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।
मंगलबार बसेको पार्टी स्थायी कमिटीको दोस्रो बैठकले राष्ट्रिय भेलाको तयारीसँगै समसामयिक राजनीतिक विषयमा छलफल गरेको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
बैठकले केन्द्रीय कमिटीको बैठक आगामी मंसिर ४ गते बस्ने निर्णयसमेत गरेको छ ।
भट्टका अनुसार बुधबार र बिहीबार आयोजना हुने राष्ट्रिय भेलामा पार्टीका शीर्ष नेताहरूले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
भेलामा अध्यक्षले वर्तमान राष्ट्रिय राजनीति, पार्टीको भावी कार्यदिशा र आगामी कार्ययोजनाबारे कार्यपत्र प्रस्तुत गर्नेछन् । वरिष्ठ नेताले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका विषयमा आफ्नो धारणा राख्नेछन् ।
त्यस्तै, उपाध्यक्ष रामबहादुर थापाले कम्युनिस्ट आन्दोलन र संसदीय संघर्षबारे कार्यपत्र प्रस्तुत गर्नेछन् भने उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको कार्यकालमा भएका विकास निर्माणका कामको तथ्यांकसहित प्रस्तुति दिनेछन् ।
महासचिवले पार्टी शुद्धीकरण र सुदृढीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको भट्टले बताए ।
उनका अनुसार राष्ट्रिय भेलाको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी अघि बढाउने र संगठनलाई प्रभावकारी रूपमा परिचालन गर्ने भन्ने विषयमा छलफल गर्नु हो । भेलामार्फत स्थानीय तह निर्वाचनको तयारी र चुनावी रणनीतिबारे तल्लो तहबाट सुझावसमेत संकलन गरिनेछ ।
राष्ट्रिय भेलाको तयारीबारे संगठन विभाग प्रमुख तथा केन्द्रीय सचिव भानुभक्त ढकालले स्थायी कमिटी बैठकमा जानकारी गराएका थिए ।
यसैबीच, उपमहासचिव भट्टले पार्टी पुनर्गठनको विषय भने राष्ट्रिय भेलामा नउठ्ने स्पष्ट पारेका छन् । उनका अनुसार पुनर्गठनसम्बन्धी विषय केन्द्रीय कमिटीबाट यसअघि नै टुंगो लागिसकेको छ ।

