काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा नेपाल–भारतबीच आर्थिक सहयोग, ऊर्जा व्यापार, हवाई रुट विस्तार, पूर्वाधार विकास तथा रेलमार्गलगायतका महत्वपूर्ण विषयमा छलफल हुने तयारी छ।
प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गर्नेछन्। दिल्ली विमानस्थलमा उनलाई भारत सरकारका केन्द्रीय मन्त्रीले स्वागत गर्ने कार्यक्रम छ।
नयाँदिल्ली पुगेपछि प्रधानमन्त्री शाहले भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। सोही दिन साँझ नेपाली राजदूतावासले प्रधानमन्त्रीको सम्मानमा रात्रिभोज आयोजना गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहको बसोबास नयाँदिल्लीस्थित ताजमान सिंह वा ताज प्यालेस होटलमध्ये एकमा हुने तयारी छ। भारतीय गृहमन्त्री, विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारले प्रधानमन्त्री बसेकै होटलमा भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
भ्रमणको दोस्रो दिन मंसिर ७ गते बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई औपचारिक रूपमा गार्ड अफ अनर प्रदान गरिनेछ। उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी पनि सहभागी हुनेछन्। त्यसपछि प्रधानमन्त्री शाहले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।
त्यसपछि भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। अर्थमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुनेछ।
सुरुमा दुवै प्रधानमन्त्रीबीच सीमित प्रतिनिधिमण्डलसहित ‘वान प्लस फोर’ ढाँचामा छलफल हुनेछ। त्यसपछि दुवै देशका प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलका सदस्य सहभागी हुने ‘वान प्लस फोर्टिन’ ढाँचामा औपचारिक वार्ता हुनेछ।
यसलाई प्रधानमन्त्री शाहको भारत भ्रमणको सबैभन्दा महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ। वार्तामा आर्थिक सहयोग, हवाई रुट विस्तार, ऊर्जा व्यापार, पूर्वाधार विकास, रेलमार्ग तथा नेपाल–भारतबीच लामो समयदेखि थाँती रहेका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
द्विपक्षीय वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन्। भ्रमणको अन्त्यमा भारतीय विदेश सचिव विक्रम मिस्रीले सञ्चारमाध्यमलाई भ्रमणबारे जानकारी गराउने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा भारतको सहयोगमा नेपालमा निर्माण भएका केही आयोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने तयारीसमेत गरिएको छ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका १५ जना अधिकारीको बसोबास, खानपान तथा व्यवस्थापन खर्च भारत सरकारले बेहोर्ने र अन्य सदस्यको खर्च नेपाल सरकारले व्यहोर्ने गरी तयारी गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
दुईदिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते दिउँसो ४ः५० बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ।

