काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । भेलामा पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका नेता तथा जनप्रतिनिधिसम्म गरी ३ हजार ४१४ जना सहभागी हुने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख नीरज आचार्यले भेलाको प्रमुख उद्देश्य आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित तयारी गर्नु रहेको जानकारी दिए ।
उनका अनुसार निर्वाचनको पूर्वतयारीलाई प्रभावकारी बनाउने, पार्टीका निर्णय तथा राजनीतिक दृष्टिकोणमा एकरूपता कायम गर्ने र वैचारिक तथा सङ्गठनात्मक एकता थप मजबुत बनाउने विषय भेलाका मुख्य प्राथमिकतामा छन् । मुलुकमा देखिएको कुशासन र निराशालाई चिर्दै जनतामा नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्यसमेत भेलाले राखेको छ ।
भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्थाको विश्लेषण गर्दै एमालेको राजनीतिक दृष्टिकोण र आगामी कार्यदिशाबारे मार्गदर्शन प्रस्तुत गर्ने कार्यक्रम छ ।
त्यसैगरी, वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक परिस्थिति र पार्टीको आगामी कार्यभारबारे विशेष सम्बोधन गर्नेछिन् ।
भेलामा उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभारा, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका काम तथा उपलब्धिको समीक्षा र महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण एवं स्थानीय निर्वाचनको कार्ययोजना प्रस्तुत गर्नेछन् ।
प्रचार विभाग प्रमुख आचार्यका अनुसार भेलामा सहभागी प्रत्येक प्रतिनिधिले स्थानीय तह निर्वाचन केन्द्रित सुझाव अनिवार्य रूपमा लिखित रूपमा पेस गर्नुपर्नेछ ।

