शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले तिहारका विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षको चर्चा गर्दै सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा पर्वबाट प्राप्त होस् भन्ने कामना गरेका छन्।
उनले काग तिहारको धार्मिक तथा सांस्कृतिक महत्व उल्लेख गर्दै यमराजको दूत मानिने कागलाई मीठा परिकार खुवाएर सम्मान गर्ने परम्पराको चर्चा गरेका छन्। प्राचीन समयमा आधुनिक सञ्चारका माध्यम नभएका बेला काग कराउँदा कतैबाट समाचार वा पाहुना आउन लागेको संकेतका रूपमा लिने विश्वास रहेको पनि उनले स्मरण गरेका छन्।
त्यस्तै, यमयातनाबाट मुक्तिका लागि परिवारका सदस्यका नाममा यम दीपदान गर्ने परम्परा रहेको उल्लेख गर्दै हाम्रो संस्कृतिले यमराजलाई डरको प्रतीकका रूपमा मात्रै नभई न्यायको प्रतीकका रूपमा समेत बुझाएको उनले बताएका छन्। यमराजले दुष्कर्म गर्नेलाई दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराजका रूपमा रक्षा गर्ने धार्मिक विश्वास रहेको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले आजै परेको धन्वन्तरी जयन्तीका अवसरमा आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै सबैलाई निरोगी जीवनको शुभकामना दिएका छन्।
यसैगरी भोलि मनाइने कुकुर तिहारको सन्दर्भमा मानव सभ्यताको विश्वासिलो र वफादार साथी कुकुरप्रतिको प्रेम र कृतज्ञता प्रकट गर्ने दिनका रूपमा उनले व्याख्या गरेका छन्। घरको सुरक्षादेखि अनुसन्धान तथा उद्धार कार्यसम्म मानिसलाई साथ दिने कुकुरलाई मीठा परिकार खुवाएर पूजा गर्ने परम्पराले अन्य जीवप्रतिको सहअस्तित्व र सद्भावलाई थप प्रगाढ बनाउने विश्वास उनले व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले तिहारका पर्वहरूले सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहँदै समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा प्रदान गरून् भन्ने कामना गर्दै आफ्नो शुभकामना सन्देशको अन्त्यमा ‘जय देश, जय संस्कृति!’ उल्लेख गरेका छन्।

