काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत भिडियो सार्वजनिक गर्दै पोर्चुगलको राष्ट्रिय टोलीबाट आफ्नो खेलजीवन टुंग्याउने निर्णय सुनाएका हुन्।
४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३४ खेल खेल्दै १४६ गोल गरेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने दुवै कीर्तिमान उनको नाममा छन्।
सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोले २३ वर्ष लामो अन्तर्राष्ट्रिय करियरपछि संन्यासको निर्णय लिएका हुन्। उनले आफ्नो चर्चित सात नम्बरको जर्सी अब राष्ट्रिय टोलीलाई हस्तान्तरण गर्ने समय आएको बताएका छन्।
‘पोर्चुगिज जनताका लागि भन्न चाहन्छु– हाम्रो राष्ट्रिय टोलीलाई आफ्नो सात नम्बरको जर्सी फिर्ता गर्ने दिन आएको छ,’ उनले भनेका छन्।
पोर्चुगलको जर्सी लगाएर २३ वर्षसम्म खेल्न पाउनु आफ्नो सौभाग्य भएको उल्लेख गर्दै उनले संन्यासको निर्णय सहज नभएको बताएका छन्।
‘२३ वर्षसम्म यो जर्सी पहिरिनु मेरो सौभाग्य रह्यो। आज यो भविष्यका लागि हस्तान्तरण गर्ने दिन आएको छ। यो सहज निर्णय पक्कै होइन,’ रोनाल्डोले भनेका छन्।
सन् २००३ को अगस्टमा सुरु भएको अन्तर्राष्ट्रिय फुटबल यात्राले आफ्नो जीवन सदाका लागि परिवर्तन गरेको उल्लेख गर्दै उनले अब उक्त यात्राको अन्त्य भएको बताएका छन्।
रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय करियरमा पोर्चुगललाई सन् २०१६ को युरोपियन च्याम्पियनसिप र सन् २०१९ को यूईएफए नेसन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

