काठमाडौं । पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । यससँगै लुम्बिनीले जारी प्रतियोगितामा दोस्रो जित निकालेको छ ।
लुम्बिनीका कप्तान रोहित पौडेल ४७ र निरोशन डिकवेल्ला २७ रनमा अविजित रहे । उनीहरूबीच तेस्रो विकेटका लागि ७७ रनको अविजित साझेदारी भएको थियो । ओपनर आशिफ शेख ७ रनमा रनआउट भए भने डार्सी सर्ट १३ रन बनाएर आउट भए । पोखराका विपिन खत्रीले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो । पोखराका लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए । कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन जोडे ।
पोखरालाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका रुवेन ट्रम्पलम्यानले सर्वाधिक ४ विकेट लिए । तिलक भण्डारीले २ तथा शेर मल्ल, अविनाश गौतम र रोहित पौडेलले समान एक विकेट लिए ।
जितसँगै लुम्बिनीले अंक तालिकामा ५ अंक जोडेको छ । पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको लुम्बिनीले दोस्रो खेलमा वर्षाका कारण चितवनसँग अंक बाँडेको थियो । लगातार तीन खेलमा पराजित पोखरा भने अंकविहीन हुँदै तालिकाको पुछारमा रहेको छ ।
एनपीएलको पहिलो सिजनमा पोखराले लुम्बिनीलाई १० विकेटले पराजित गरेको थियो भने दोस्रो सिजनमा लुम्बिनीले ३ विकेटले जितेको थियो ।
यसैबीच मंगलबार भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको थियो । विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो ।
एनपीएलमा बुधबार विश्राम रहनेछ । बिहीबार पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

