पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो। सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी रहेको जग्गा मन्त्रिपरिषद्को निर्णयमार्फत सट्टापट्टाका नाममा बिक्री गरिएको आरोपमा मुद्दा दायर गरिएको हो।
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले मुद्दा दर्ता भएको जानकारी दिएकी छन्।
अख्तियारका अनुसार माधवकुमार नेपाल प्रधानमन्त्री रहेका बेला मन्त्रिपरिषद् बैठकबाटै हदबन्दीभन्दा बढीको जग्गा बिक्री गर्न अनुमति दिइएको थियो। तत्कालीन मन्त्रिपरिषद्ले ५९ बिघा ९ कट्ठा जग्गा सट्टापट्टा गर्न अनुमति दिएर बिक्रीको वातावरण बनाएको अख्तियारको आरोप छ।
उक्त निर्णय प्रक्रियामा संलग्न रहेको आरोपसहित ९७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो।

