काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै आफू तर्सिने स्वभावको नभएको बताएका छन् ।
सोमबार साँझ ठीक ६ बजे सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै थापाले प्रधानमन्त्री शाहलाई जवाफ दिएका हुन् । ‘अहिले ठीक १८:०० बजेको छ,’ उनले लेखेका छन्, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन ।’
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा प्रायः रातिको समयमा स्टाटस लेख्दै आएका छन् । थापाले आफ्नो स्टाटसमा समयसमेत उल्लेख गर्दै प्रधानमन्त्रीको शैलीप्रति कटाक्ष गरेका हुन् ।
यसअघि आइतबार साँझ करिब ७ बजे प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै एक–दुई जनालाई उम्किन नदिने चेतावनी दिएका थिए । ‘सही समय आएपछि, सबैको गलत समय आउँछ,’ उनले लेखेका थिए, ‘एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’
आइतबार दिउँसो कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति थापाले पत्रकारमाथि धरपकड गरिएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । त्यसपछि प्रधानमन्त्री शाहको चेतावनीपूर्ण स्टाटस आएको थियो । थापाले सोमबार साँझ लेखेको स्टाटसलाई त्यसैको जवाफका रूपमा हेरिएको छ ।
