काठमाडौं । राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि नागरिकले राहदानी, बैंक तथा वित्तीय सेवा र सवारी चालक अनुमतिपत्रलगायत सार्वजनिक सेवा प्राप्त गर्न सक्ने भएका छन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सोमबार सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभएकै कारण नागरिकलाई सार्वजनिक सेवा प्रवाहबाट वञ्चित नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो ।
विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत नागरिकको विवरण दर्ता तथा राष्ट्रिय परिचय नम्बर जारी गर्ने कार्य नियमित भइरहेको छ । तर, विवरण प्रमाणीकरणका लागि आवश्यक अटोमेटिक बायोमेट्रिक इन्फर्मेसन सिस्टमको क्षमताका कारण केही नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भएको छ ।
विशेषगरी गत असोज १ गतेपछि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराई नम्बर प्राप्त गरेका नागरिकमा यस्तो समस्या देखिएको विभागले जनाएको छ ।
विभागले बायोमेट्रिक प्रमाणीकरण प्रणालीको क्षमता विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको र आगामी दुई साताभित्र सम्पन्न हुने अपेक्षा गरेको छ । त्यसपछि विवरण प्रमाणीकरण सेवा नियमित हुने विभागको भनाइ छ ।
यस विषयमा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्ध भएका सेवाप्रदायक निकायलाई जानकारी गराइसकिएको विभागले जनाएको छ ।
पछिल्लो समय राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा समस्या हुँदा विशेषगरी सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन सेवाग्राहीलाई असहज हुँदै आएको थियो । विभागले प्राविधिक समस्याका कारण कुनै पनि नागरिक सार्वजनिक सेवा प्राप्त गर्नबाट वञ्चित हुन नपर्ने स्पष्ट पार्दै सेवा प्रवाह सहज बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

