काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरणका क्रममा ठोक्किएका हुन्।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अवतरणका क्रममा दुवै हेलिकोप्टरका पङ्खा ठोक्किएको प्रारम्भिक जानकारी आएको बताए। घटनाबारे थप विवरण बुझ्ने काम भइरहेको उनले जानकारी दिए।

