पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमले १४८ रन बनाउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो ।
सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा ३७ रन बनाए भने सैफ जैबले १५ रनको योगदान दिए ।
पोखराका लागि धनञ्जय लक्षण, महेदी हसन र शाकिब अल हसनले समान एक–एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।
पोखराका लागि अर्जुन घर्तीले अविजित ४० रन बनाए । उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, महेदी हसनले ३२, कप्तान कुशल भुर्तेलले २१, शाकिब अल हसनले १४ र धनञ्जय लक्षणले ११ रन बनाए । सदीरा समरविक्रमा ८ रनमा आउट भए ।
सुदूरपश्चिमका बलर अनिल खरेलले ३ विकेट लिए । उनले ३ ओभरमा २३ रन खर्चिए । त्यस्तै, स्कट कुगेलाइन, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान एक–एक विकेट लिए ।
यस जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा २ अंक जोडेको छ । सुदूरपश्चिम आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।

