काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसको प्रभावले बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न प्रदेशमा वर्षा, मेघगर्जन, चट्याङ तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिममध्य बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट बुधबार बिहान सवा ८ बजेतिर जमिनमा प्रवेश गरेको हो । यसको प्रभावले नेपालको वायुमण्डलमा बुधबारदेखि नै उच्च तहका बादल देखिन थालेका छन् । बिहीबार कात्तिक १२ गतेदेखि यसको प्रभाव क्रमशः बढ्दै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबारदेखि शनिबारसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
उक्त तीन दिनमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा समेत भारी वर्षा र हिमपातको सम्भावना रहेको छ ।
सम्भावित वर्षा र हिमपातका कारण बाढी, पहिरो तथा सडक अवरुद्धजस्ता समस्या निम्तिन सक्ने भएकाले विशेषगरी पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्ने तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई मौसमसम्बन्धी सूचनामा ध्यान दिन र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

