काठमाडौं । प्रविधि कम्पनी एप्पल ले एम–६ (M6) चिपद्वारा सञ्चालित १४ इन्चको नयाँ म्याकबुक प्रो सार्वजनिक गरेको छ। कलेजका विद्यार्थी, व्यावसायिक प्रयोगकर्ता तथा सामग्री निर्माता (क्रियटर) लाई लक्षित गरी ल्याइएको यो ल्यापटपमा उच्च कार्यक्षमता, उपकरणमै कृत्रिम बुद्धिमत्ता (एआई) सञ्चालन गर्ने क्षमता, तीव्र कनेक्टिभिटी र २४ घण्टासम्मको ब्याट्री लाइफ रहेको कम्पनीले जनाएको छ।
‘स्पेस ब्ल्याक’ र ‘सिल्भर’ रङमा उपलब्ध हुने नयाँ म्याकबुक प्रोको प्रि–अर्डर अक्टोबर २८ देखि खुला हुने र नोभेम्बर ६ देखि बजारमा बिक्री सुरु हुने जनाइएको छ।
एम–६ चिप र एआई क्षमतामा सुधार
नयाँ म्याकबुक प्रोमा १२–कोर सीपीयू, १२–कोर जीपीयू र दोहोरो १६–कोर न्युरल इन्जिन समावेश छन्। एप्पलका अनुसार यसको जीपीयूले अघिल्लो एम–५ चिपको तुलनामा ३० प्रतिशतसम्म छिटो ग्राफिक्स र २५ प्रतिशतसम्म छिटो एआई कार्यसम्पादन दिन्छ। एम–१ चिप भएका पुराना मोडेलबाट अपग्रेड गर्ने प्रयोगकर्ताले ग्राफिक्समा ११ गुणासम्म र एआई कार्यसम्पादनमा १३ गुणासम्म सुधार अनुभव गर्न सक्ने कम्पनीको दाबी छ।
जीपीयूमा रहेका न्युरल एक्सेलेरेटर र न्युरल इन्जिनले उपकरणमै एआईसम्बन्धी काम सञ्चालन गर्न सहयोग गर्छन्। यसबाट तस्बिर सम्पादन, कोडिङ, ग्राफिक्स निर्माण र ठूला फाइलमा काम गर्ने प्रयोगकर्तालाई फाइदा पुग्ने अपेक्षा गरिएको छ।
डिस्प्ले, कनेक्टिभिटी र ब्याट्री
ल्यापटपमा लिक्विड रेटिना एक्सडीआर डिस्प्ले दिइएको छ, जसले एचडीआर सामग्रीका लागि १,६०० निट्ससम्म पिक ब्राइटनेस र १० लाखः१ कन्ट्रास्ट रेसियो प्रदान गर्छ। प्रतिबिम्ब र चमक कम गर्न नानो–टेक्स्चर डिस्प्लेको विकल्पसमेत उपलब्ध छ।
कनेक्टिभिटीका लागि वाई–फाई ७ र ब्लुटुथ ६ दिइएको छ। यसमा १२ मेगापिक्सेलको सेन्टर स्टेज क्यामेरा, छवटा स्पिकरयुक्त साउन्ड सिस्टम, तीनवटा थन्डरबोल्ट ४ पोर्ट, एचडीएमआई, म्यागसेफ ३, एसडीएक्ससी कार्ड स्लट र हेडफोन ज्याक छन्।
नयाँ मोडेलमा १६ जीबी युनिफाइड मेमोरी आधारभूत रूपमा उपलब्ध हुनेछ, जसलाई आवश्यकताअनुसार ३२ जीबीसम्म कन्फिगर गर्न सकिन्छ। एप्पलका अनुसार ल्यापटपको ब्याट्री एकपटक चार्ज गर्दा २४ घण्टासम्म टिक्न सक्छ। वास्तविक ब्याट्री अवधि प्रयोग र कन्फिगरेसनअनुसार फरक पर्न सक्छ।
कति छ मूल्य?
एम–६ चिपसहितको १४ इन्च म्याकबुक प्रोको अमेरिकी बजारमा सुरुवाती मूल्य १ हजार ९९९ अमेरिकी डलर तोकिएको छ। यो नेपाली रुपैयाँमा तीन लाखभन्दा बढी हुन्छ। शिक्षा क्षेत्रमा छुट पाउने ग्राहकका लागि भने सुरुवाती मूल्य १ हजार ८९९ डलर रहने एप्पलले जनाएको छ।
यसैबीच, ब्लुमबर्ग को रिपोर्टअनुसार एप्पलले भविष्यमा ओएलईडी टचस्क्रिनसहितका थप प्रिमियम म्याकबुक प्रो मोडेल ल्याउने तयारी गरिरहेको छ। रिपोर्टमा १४ इन्चको टचस्क्रिन मोडेलको मूल्य २ हजार ८९९ डलर र १६ इन्चको मोडेलको मूल्य कम्तीमा ३ हजार ३९९ डलर हुन सक्ने अनुमान गरिएको छ।
प्रस्तावित मोडेलमा पातलो डिजाइन र हिन्जमार्फत हावा प्रवाह हुने परिष्कृत कुलिङ प्रणाली रहने बताइएको छ। यी टचस्क्रिन मोडेल परम्परागत नन–टच म्याकबुक प्रोका साथै बिक्री गर्ने योजना रहेको रिपोर्टमा उल्लेख छ। यद्यपि, यी भविष्यका मोडेलको मूल्य र उपलब्धता एप्पलले औपचारिक रूपमा पुष्टि गरेको छैन।

