साओमीको बहुप्रतीक्षित फ्ल्यागशिप स्मार्टफोन सिरिज साओमी १७-टी आगामी मे २८ मा विश्व बजारमा सार्वजनिक हुने भएको छ। सार्वजनिक हुनुअघि नै टिपस्टर @DigitalChatStation र बाहिरिएका आधिकारिक रेन्डरमार्फत यसको प्रमुख स्पेसिफिकेसनहरू सार्वजनिक भएका छन्।
नयाँ सिरिजमा स्ट्यान्डर्ड र प्रो गरी दुई मोडेल रहने बताइएको छ। लिकअनुसार स्ट्यान्डर्ड मोडेलमा ६.५९ इन्चको डिस्प्ले हुनेछ भने प्रो मोडेलमा ६.८३ इन्चको “साओमी भिजन केयर २” सहितको १४४ हर्ज आई–केयर डिस्प्ले रहनेछ। दुवै स्मार्टफोनमा १.५के रिजोलुसन र १४४ हर्ज रिफ्रेश रेटसहितको फ्ल्याट फ्रन्ट प्यानल उपलब्ध हुनेछ।
प्रोसेसरतर्फ साओमी १७-टी मा मिडियाटेक डाइमेन्सिटी ८५०० चिपसेट प्रयोग गरिनेछ भने प्रो भर्सनमा अल–बिग–कोर डिजाइन भएको मिडियाटेक डाइमेन्सिटी ९५०० मोबाइल एसओसी रहने जानकारी बाहिरिएको छ। दुवै डिभाइसमा फाइभ–जी सपोर्ट उपलब्ध हुने बताइएको छ।
क्यामेरा सेटअपमा साओमीले लाइका लेन्स प्रयोग गरेको छ। साथै सबै मोडेलमा ५ एक्स पेरिस्कोप सुपर टेलिफोटो सेन्सर रहनेछ, जसले १२०x एआई अल्ट्रा जुमसम्म सपोर्ट गर्ने जनाइएको छ। लाइका समिलक्स अप्टिकल लेन्समार्फत “लाइका लाइभ मोमेन्ट” फिचर पनि समावेश गरिएको छ।
साओमी १७-टी प्रोमा ओम्निभिजन OV50Q मुख्य क्यामेरा सेन्सर रहनेछ। ५० मेगापिक्सेलको यो सीएमओएस इमेजिङ सेन्सरले कम उज्यालोमा पनि उत्कृष्ट फोटो खिच्न सहयोग गर्ने बताइएको छ। यसमा १/१.३ इन्च अप्टिकल सेन्सर र LOFIC प्रविधि प्रयोग गरिएको छ, जसले रङ, डाइनामिक रेन्ज र इमेज क्वालिटी सुधार गर्ने कम्पनीको दाबी छ।
ब्याट्रीतर्फ दुवै डिभाइसमा ७००० एमएएच क्षमताको सिलिकन–कार्बन ब्याट्री रहनेछ। यसले १०० वाट वायर्ड तथा ५० वाट वायरलेस हाइपरचार्ज सपोर्ट गर्नेछ।
सफ्टवेयरका हिसाबले स्मार्टफोनहरू साओमीको हाइपरओएसमा आधारित हाइपरएआई फिचरसहित आउनेछन्। आधिकारिक घोषणा हुनुअघि सार्वजनिक भएका लिकहरूले नयाँ फ्ल्यागशिप सिरिजका अधिकांश विशेषताहरू खुलासा गरिसकेका छन्।

