ह्वाट्सएपले आफ्नो आधिकारिक ब्लगमार्फत नयाँ सुविधाको घोषणा गर्दै प्रारम्भिक चरणमा केही चुनिएका देशमा सेवा उपलब्ध गराइने जनाएको छ । यसका लागि भारतको दूरसञ्चार कम्पनी रिलायन्स जियोसहित विभिन्न ई–सिम सेवा प्रदायक तथा दूरसञ्चार कम्पनीसँग सहकार्य भइरहेको कम्पनीले जनाएको छ ।
नयाँ सुविधामार्फत अन्तर्राष्ट्रिय यात्रा गर्ने प्रयोगकर्ताले ह्वाट्सएप एप नछोडी केही चरणमै आफू जाने देशका लागि उपयुक्त डेटा ई–सिम खरिद गर्न र इन्स्टल गर्न सक्नेछन् । यसले विदेशमा रहँदा इन्टरनेट कनेक्टिभिटी सहज बनाउने कम्पनीको अपेक्षा छ ।
ह्वाट्सएपले आफ्नो ब्लगमा यात्राका क्रममा सम्पर्कमा रहन सहज बनाउन ई–सिम खरिद र इन्स्टल गर्ने नयाँ तरिका ल्याउन लागेको उल्लेख गरेको छ । एपभित्रै केही ट्यापमा यो प्रक्रिया पूरा गर्न सकिने कम्पनीको भनाइ छ ।
एन्ड्रोइड अथोरिटीका अनुसार ह्वाट्सएपको संस्करण २.२६.४७.१० को कोडमा ई–सिम खरिद गर्न सकिने सुविधासम्बन्धी संकेत भेटिएका छन् । उक्त रिपोर्टअनुसार प्रयोगकर्ताले आफू जाने गन्तव्य प्रविष्ट गरेपछि त्यहाँ प्रयोग गर्न मिल्ने ई–सिमका विकल्पहरू एपले उपलब्ध गराउन सक्नेछ ।
नयाँ सुविधामा प्रयोगकर्ताले खरिद गरेका ई–सिम, म्याद सकिएका ई–सिम तथा बाँकी डेटा हेर्न सक्ने व्यवस्था पनि हुन सक्नेछ । त्यस्तै, डेटा सकिन लाग्दा वा ई–सिम प्याकेजको अवधि समाप्त हुन लाग्दा एपले सूचना दिने सुविधा समावेश हुने रिपोर्टमा उल्लेख छ ।
ह्वाट्सएपले रिलायन्स जियोबाहेक स्मार्ट आजियाटा, स्मार्ट कम्युनिकेसन्स् र भेरिजोनलगायतका दूरसञ्चार कम्पनी तथा ई–सिम सेवा प्रदायकसँग पनि सहकार्य गरिरहेको जनाएको छ । यद्यपि, यो सुविधा कुन देशमा र कहिलेदेखि उपलब्ध हुनेछ भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन ।
‘तपाईंका लागि उपलब्ध भएपछि यो सुविधा एपमै देखिनेछ,’ ह्वाट्सएपले जनाएको छ ।
ह्वाट्सएपका प्रमुख कुनाल शाहले पनि सामाजिक सञ्जाल एक्समार्फत ई–सिम सुविधाबारे संकेत गरेका छन् । उनले विश्वभर सहज रूपमा ह्वाट्सएप प्रयोग गर्न सकिने वातावरण बनाउने उद्देश्यले ई–सिमसम्बन्धी प्रारम्भिक खोज सुरु गरिएको उल्लेख गरेका छन् ।
मेसेजिङ सेवामा सीमित नरही दैनिक जीवनका विभिन्न सेवा समेट्ने प्लेटफर्मका रूपमा विस्तार गर्ने ह्वाट्सएपको रणनीतिअन्तर्गत नयाँ सुविधा ल्याउन लागिएको हो । यस वर्षको सुरुवातमा ह्वाट्सएपको विश्वव्यापी नेतृत्व सम्हालेका शाहले सञ्चारलाई थप अभिव्यक्तिपूर्ण बनाउने, दैनिक सेवाहरू सरल बनाउने र कृत्रिम बुद्धिमत्ता (एआई) समेट्ने तीन प्राथमिकता अघि सारेका छन् ।
ह्वाट्सएपले यसअघि नै एपभित्र बिल भुक्तानी तथा वित्तीय कारोबारलाई सहज बनाउने काम गरिरहेको छ । त्यस्तै, केही एन्ड्रोइड प्रयोगकर्ताका लागि एकपटक मात्रै हेर्न मिल्ने टेक्स्ट सन्देश (भ्यु वान्स टेक्स्ट मेसेज) लगायतका सुविधाको परीक्षण पनि भइरहेको छ ।
ई–सिम सुविधाको घोषणाभन्दा एक दिनअघि मात्रै ह्वाट्सएपले सन्देश निर्धारित समयमा पठाउन सकिने सुविधा सार्वजनिक गरेको थियो । उक्त सुविधामार्फत व्यक्तिगत तथा समूह च्याटमा टेक्स्ट, फोटो र भिडियो १० मिनेटदेखि १४ दिनसम्मको समय निर्धारण गरेर पठाउन सकिनेछ ।
भारत ह्वाट्सएपको सबैभन्दा ठूलो बजार हो । कम्पनीका अनुसार भारतमा मात्रै ५० करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन् । विश्वव्यापी प्रयोगकर्ता आधारमा पनि भारतको हिस्सा सबैभन्दा ठूलो छ ।

