काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका विभिन्न माग सम्बोधन गर्न दबाब दिने उद्देश्यसहित दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै मंसिर १३ गतेदेखि दोस्रो चरणका आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । महासंघले घोषित आन्दोलनलाई सक्रियतापूर्वक सफल बनाउन आफ्ना सबै प्रदेश समिति, जिल्ला शाखा तथा सम्बद्ध पत्रकारलाई आह्वान गरेको छ ।
महासंघका अनुसार समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि हालसम्म कारबाही नभएको विषयलाई लिएर आन्दोलन गर्नुपरेको हो ।
त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको महासंघको आरोप छ ।
पहिलो चरणको आन्दोलन देशव्यापी रूपमा सम्पन्न भए पनि सरकारले आफ्ना मागलाई बेवास्ता गरेको महासंघको भनाइ छ । सरकारमाथि थप दबाब सिर्जना गर्न र संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आफ्ना मागप्रति सहमत गराउन दोस्रो चरणको आन्दोलन घोषणा गरिएको महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
घोषित कार्यक्रमअनुसार मंसिर १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा एक घण्टा धर्ना दिइनेछ । त्यसैगरी, मंसिर १४ गते नेपाली कांग्रेस, मंसिर १५ गते नेकपा एमाले, मंसिर १६ गते नेपाली कम्युनिस्ट पार्टी, मंसिर १७ गते श्रम संस्कृति पार्टी र मंसिर १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा बिहान ११ बजेदेखि १२ बजेसम्म धर्ना दिने कार्यक्रम छ ।
महासंघले मंसिर २० गते काठमाडौंको माइतीघर तथा काठमाडौं बाहिरका जिल्लाका सदरमुकाममा कालो लुगा, कालो पट्टी र कालो मास्क लगाएर प्रदर्शन गर्ने जनाएको छ ।
महासंघले कुनै पनि राजनीतिक दलले आफ्ना मागप्रति लिखित रूपमा ऐक्यबद्धता जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गरेमा उक्त दलको कार्यालयमा धर्ना नदिने स्पष्ट पारेको छ ।
यसबीचमा पनि माग सम्बोधन नभए तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने महासंघले जनाएको छ ।

