काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
बुधबार न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागअनुसार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। निवेदकले माग गरेको न्यायिक उपचार र अन्तरिम आदेशसँग सम्बन्धित कानुनी प्रश्नहरू रिट निवेदनको अन्तिम सुनुवाइका क्रममा निरुपण हुने प्रकृतिका देखिएको इजलासको ठहर छ।
सर्वोच्चको आदेशमा मनोजकुमार केसी कात्तिक १८ गते नै प्रहरी महानिरीक्षकमा बढुवा तथा नियुक्त भई कार्यभार सम्हालिसकेको उल्लेख छ। शान्ति सुरक्षा कायम गर्ने प्रहरी संगठनको नेतृत्वसँग सम्बन्धित विषय सार्वजनिक महत्वको र संवेदनशील भएकाले रिटको छिटो निरुपण गर्नुपर्ने इजलासले जनाएको छ।
इजलासले विपक्षीहरूको लिखित जवाफ प्राप्त भएपछि वा जवाफ दिने अवधि समाप्त भएपछि सात दिनभित्रै पेसी चढाउन आदेश दिएको छ। साथै पेसी हटाउन नपाउने पूर्वसूचना दुवै पक्षलाई दिनसमेत आदेशमा भनिएको छ।
यसअघि कात्तिक २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेश छलफलका लागि विपक्षीहरूलाई बोलाउँदै लिखित जवाफ माग गरेको थियो। म्याद बुझेको १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएकोमा सबै विपक्षीले म्याद बुझिसकेका छन्।
अब विपक्षीहरूको लिखित जवाफ प्राप्त भएपछि सर्वोच्च अदालतले रिटको अन्तिम सुनुवाइका लागि पेसी तोक्नेछ।

