लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन हुनुका साथै समतामूलक समाज निर्माणको बाधक रहेको बताएका हुन्।
उनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय लैङ्गिक हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै पछिल्लो समय डिजिटल माध्यमबाट हुने हिंसा पनि थप चुनौतीका रूपमा देखा परेको बताएका छन्।
सबै प्रकारका हिंसा रोक्न, पीडितलाई न्यायमा सहज पहुँच दिलाउन र दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेकोमा प्रधानमन्त्री शाहले जोड दिएका छन्।
प्रधानमन्त्रीका अनुसार सरकारले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढ गर्ने, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुनःस्थापनालाई प्राथमिकतामा राखेको छ। यी प्रयासलाई प्रभावकारी बनाउन तीनै तहका सरकार, सामाजिक सङ्घसंस्था र नागरिकबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
यसैगरी, भोटेकोशी क्षेत्रमा गएको बाढीजस्ता विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन पनि उनले आग्रह गरेका छन्।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित सुरु भएको हो।
संयुक्त राष्ट्रसङ्घले यस वर्ष महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य, न्यायको सुनिश्चितता र पीडितको संरक्षणलाई अभियानको मुख्य विषय बनाएको छ।
प्रधानमन्त्री शाहले अभियानलाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था र आम नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।

