काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिलाई पुनः आधिकारिक मान्यता दिएको छ ।
आयोगले गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति, संशोधित विधान तथा राजनीतिक दस्तावेजलाई समेत आधिकारिक रूपमा अद्यावधिक गरेको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कांग्रेसले अद्यावधिकका लागि पेस गरेका कागजात, महाधिवेशनका निर्णय र विधान संशोधनसम्बन्धी विवरणको कानुनी अध्ययनपछि आयोगको मंगलबार बसेको बैठकले स्वीकृति दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार बुधबार आयोगले पार्टीलाई विवरण अद्यावधिक गरिएको आधिकारिक पत्र प्रदान गरेको हो ।
प्रवक्ता भट्टराईले महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य तथा विधानलगायतका सबै विवरण आयोगको अभिलेखमा अद्यावधिक भइसकेको जानकारी दिएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले पनि निर्वाचन आयोगबाट कार्यसमिति र विधान अद्यावधिक भएको आधिकारिक पत्र प्राप्त भएको पुष्टि गरेका छन् ।
सभापति थापाले जारी केन्द्रीय समिति बैठकमा १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई अद्यावधिक गर्ने निर्णयसहितको पत्र आयोगबाट प्राप्त भएको जानकारी गराएका थिए ।
यसअघि विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई पनि निर्वाचन आयोगले आधिकारिक मान्यता दिएको थियो । त्यसपछि उक्त कार्यसमितिले सम्पन्न गरेको १५औँ नियमित महाधिवेशनबाट थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो ।
महाधिवेशनपछि महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते विधान संशोधन, राजनीतिक दस्तावेज र महाधिवेशनका निर्णयसहितका विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो ।
आयोगको पछिल्लो निर्णयसँगै गगन थापा नेतृत्वको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति, संशोधित विधान र राजनीतिक दस्तावेजले आयोगको आधिकारिक अभिलेखमा स्थान पाएका छन् ।

