जनकपुरधाम । भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट जनकपुरधामका लागि सञ्चालन गरिएको सरयू–कमला एक्सप्रेस रेल जनकपुरधाम आइपुगेको छ। नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सहरलाई प्रत्यक्ष रेलमार्गबाट जोड्ने उद्देश्यले सुरु गरिएको रेल सेवाको पहिलो यात्रालाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ।
रेल जनकपुरधाम आइपुग्दा सरकारी प्रतिनिधि, स्थानीय सर्वसाधारण तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले नेपाल र भारतका राष्ट्रिय झण्डा बोकेर स्वागत गरेका थिए। स्वागतका लागि उपस्थित व्यक्तिहरूले रेलमा सवार तीर्थयात्रीलाई फूलमाला लगाएर सम्मानसमेत गरेका थिए।
अयोध्याबाट प्रस्थान गरेको रेलमा करिब एक हजारदेखि ११०० जनासम्म तीर्थयात्री, साधुसन्त, सरकारी अधिकारी तथा कूटनीतिक प्रतिनिधि सवार रहेका छन्। १७ डिब्बा रहेको उक्त रेल सेवाको शुभारम्भ सोमबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा हरियो झण्डा देखाएर गरेका थिए।
रेललाई अयोध्याबाट बिदाइ गर्ने क्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि भिडियो कन्फरेन्समार्फत सहभागी भएका थिए।
जनकपुरधाममा तीर्थयात्रीको स्वागतका लागि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, श्रममन्त्री रामजी यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीलगायतको सहभागिताको व्यवस्था मिलाइएको थियो। त्यस्तै, जानकी मन्दिरका छोटे महन्थ रामरोशन दाससहित स्थानीय साधुसन्त तथा सर्वसाधारण पनि स्वागत कार्यक्रममा सहभागी भएका थिए।
जनकपुरधाम उपमहानगरपालिका, नेपाल रेल्वे र उद्योग वाणिज्य संघको समन्वयमा स्वागत तथा आतिथ्य व्यवस्थापन गरिएको थियो। तीर्थयात्रीलाई जानकी मन्दिरमा दर्शन तथा पूजाआजा गराउने, जनकपुरधामका विभिन्न धार्मिक स्थलको भ्रमण गराउने र खाजाको व्यवस्था गर्ने कार्यक्रमसमेत तय गरिएको थियो।
अयोध्यादेखि जनकपुरधामसम्मको रेलमार्गको दूरी करिब ६०४ किलोमिटर रहेको छ। रेलले भारतको जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुर हुँदै यात्रा गर्नेछ। नियमित सेवाको समयतालिकाअनुसार उक्त दूरी पार गर्न करिब १९ घण्टा लाग्नेछ।
सरयू–कमला एक्सप्रेस सञ्चालनसँगै भगवान् श्रीरामको जन्मभूमि अयोध्या र माता जानकीको जन्मभूमि जनकपुरधाम प्रत्यक्ष रेलमार्गबाट जोडिएका छन्। यसले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै देशका तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ।

