काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीले पत्रकारिता जगतलाई लाञ्छित गर्दै दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै डीएसपी केसीको अभिव्यक्ति अत्यन्तै निन्दनीय र खेदजनक रहेको बताएका छन्।
महासंघले पत्रकारिता क्षेत्रलाई लक्षित गरी गरिने यस्ता अभिव्यक्तिले प्रेस स्वतन्त्रता र पत्रकारको सम्मानमाथि प्रश्न उठाउने जनाएको छ। संविधानप्रदत्त प्रेस स्वतन्त्रता र अधिकारको सम्मान गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दै महासंघले उक्त गैरजिम्मेवार अभिव्यक्ति तत्काल सार्वजनिक रूपमा सच्याउन माग गरेको छ।
महासंघले प्रेस स्वतन्त्रताको सम्मान गर्दै जिम्मेवार र मर्यादित अभिव्यक्ति दिनसमेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

