काठमाडौं । श्रमिकसँग सम्बन्धित रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा अनियमितता गरेको आरोपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्याल पक्राउ परेका छन्।
प्रहरीले अर्याललाई मंसिर १० गते मोरङको विराटनगरस्थित नेपाल–भारत सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनीमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा अनुसन्धान अघि बढाइएको हो।
अनुसन्धानका क्रममा नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत ठगीबाट संकलित रकम मलेसिया पठाउने निर्णय भएको आरोप लगाइएको छ। उक्त प्रक्रियामा अमेरिकी डलर ८ करोड ३७ लाखभन्दा बढी र बेलायती पाउन्ड ३ करोड ७१ लाखभन्दा बढी रकम गरी नेपाली रुपैयाँमा करिब १ अर्ब ६९ करोड २ लाख रुपैयाँ मलेसिया पठाउने निर्णय गरिएको विवरणमा उल्लेख छ।
सम्झौताले तोकेको सीमा र कानुनी प्रक्रिया उल्लंघन गरी विदेशी मुद्रा पठाउँदा देशको मुद्रा सञ्चिति तथा अर्थतन्त्रमा नकारात्मक असर परेको आरोप पनि अनुसन्धानको विषय बनेको छ।
प्रहरीका अनुसार रकम पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष भूमिका निर्वाह गरेको, आर्थिक लाभ लिएको तथा अन्य व्यक्तिलाई लाभ पुर्याएको आरोप अर्यालमाथि छ। श्रमिकलाई संगठित रूपमा ठगी गर्ने गतिविधिमा आवश्यक कानुनी कारबाही नगरेको आरोपसमेत लगाइएको छ।
अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गर्न काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते अनुमति लिइएको थियो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा राखिएको छ।

