वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिलाई थप कडा बनाउँदै चीन, युरोपेली संघ (ईयू) सहित १४ प्रमुख व्यापार साझेदारबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने प्रस्ताव अघि सारेका छन्। प्रस्तावित व्यवस्थाअनुसार चीनबाट आयात हुने वस्तुमा ४० प्रतिशतसम्म र भियतनामबाट आयात हुने वस्तुमा ३५ प्रतिशतसम्म शुल्क लगाउने योजना छ।
नयाँ शुल्कको प्रस्तावमा जापान, दक्षिण कोरिया, ताइवान, भारत, बंगलादेश, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया र थाइल्यान्डलगायत मुलुक पनि समेटिएका छन्। यीमध्ये अन्य देशका वस्तुमा २० देखि २५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने प्रस्ताव गरिएको छ।
ट्रम्प प्रशासनले अघि सारेको यो योजनाले विश्व व्यापारमा नयाँ बहस सिर्जना गरेको छ। प्रस्तावित शुल्क लागू हुनुअघि सार्वजनिक परामर्श तथा आवश्यक सुनुवाइका प्रक्रिया पूरा गर्नुपर्नेछ। त्यसैले नयाँ कर आगामी वर्षदेखि कार्यान्वयनमा आउन सक्ने अपेक्षा गरिएको छ। यसअघि भएका केही व्यापारिक सहमतिका कारण कतिपय देशका लागि प्रस्तावित शुल्कको वास्तविक दर भने कम हुन सक्ने बताइएको छ।
अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनले यसअघि घोषणा गरेको ‘लिबरेसन डे’ भन्सार शुल्कलाई अवैध ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चदेखि विभिन्न देशका व्यापारिक अभ्यासमाथि अनुसन्धान थालेको थियो। अमेरिकी व्यापार प्रतिनिधि (यूएसटीआर) जेमिसन ग्रिरले उक्त अनुसन्धानका निष्कर्ष र प्रत्येक देशका व्यापारिक गतिविधिले अमेरिकी अर्थतन्त्रमा पारेको प्रभावका आधारमा नयाँ प्रस्ताव सार्वजनिक गरेका हुन्।
ग्रिरका अनुसार दशकौँदेखि अमेरिकाका व्यापार साझेदारहरूले उत्पादन क्षेत्रमा प्रतिस्पर्धा असन्तुलित बनाउने, श्रम तथा ज्यालामा दबाब सिर्जना गर्ने र बजारलाई प्रभावित पार्ने रणनीति अपनाउँदै आएका छन्। यसले अमेरिकी उत्पादन क्षेत्रलाई कमजोर बनाएको उनको दाबी छ। नयाँ भन्सार शुल्कमार्फत अमेरिकी उत्पादक तथा कामदारलाई समान प्रतिस्पर्धाको वातावरण उपलब्ध गराउने प्रशासनको लक्ष्य रहेको उनले बताएका छन्।
सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटीकी अर्थशास्त्रकी प्राध्यापक चाङ पाओ–लीले यसपटकको प्रस्तावलाई अघिल्लो शुल्क व्यवस्थाभन्दा फरक कानुनी आधारमा अघि सारिएको बताएकी छन्। उनका अनुसार अमेरिकी व्यापार कानुनको ‘सेक्सन ३०१’ अन्तर्गत प्राप्त अधिकार प्रयोग गरिएकाले यसलाई कानुनी चुनौती दिन कठिन हुन सक्ने ऐतिहासिक नजिर रहेको छ।
तर, अर्थशास्त्रीहरूबीच नयाँ शुल्कको आर्थिक प्रभावलाई लिएर फरक धारणा देखिएको छ। क्यापिटल इकोनोमिक्सका प्रमुख उत्तर अमेरिका अर्थशास्त्री स्टेफन ब्राउनले घोषणा हेर्दा जति कडा देखिए पनि व्यवहारमा यसको प्रभाव सीमित हुन सक्ने बताएका छन्। उनका अनुसार नयाँ शुल्कले गत ग्रीष्मयाममा घोषणा गरिएका शुल्कलाई प्रतिस्थापन गर्ने भएकाले मूल्यवृद्धिमा ठूलो असर नपर्न सक्छ।
यद्यपि, आयातित वस्तुमा लाग्ने अतिरिक्त करको भार व्यवसायीले उपभोक्तामाथि सार्न सक्ने भएकाले बजार मूल्य बढ्ने जोखिम रहेको अन्य अर्थशास्त्रीहरूको भनाइ छ। यसले मुद्रास्फीति बढाउनुका साथै अन्तर्राष्ट्रिय व्यापारको आकारसमेत खुम्च्याउन सक्ने उनीहरूको चेतावनी छ।
यसैबीच, अमेरिकाले छुट्टै अनुसन्धानका आधारमा ब्राजिलबाट आयात हुने चिनी र तयारी विमानमा १० प्रतिशत भन्सार शुल्क लगाउने प्रस्ताव पनि अघि सारेको छ। अमेरिकी व्यापार नीतिको विरोध गर्दै ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको कार्यालयले उक्त प्रस्तावप्रति असन्तुष्टि जनाएको छ। डिजिटल व्यापारलगायतका विषयमा आफ्नो नियम परिवर्तन गर्न दबाब दिने उद्देश्यले यस्तो कदम चालिएको ब्राजिलको बुझाइ छ।
युरोपेली आयोगले पनि नयाँ शुल्क प्रस्तावप्रति आपत्ति जनाएको छ। आयोगले अमेरिका र युरोपेली संघबीच यसअघि भएको १५ प्रतिशतको भन्सार शुल्क सीमासम्बन्धी सहमति स्मरण गराउँदै नयाँ प्रस्तावप्रति असहमति जनाएको हो। त्यस्तै, भियतनामका उपप्रधानमन्त्री बुई थान्ह सोनले प्रस्तावित शुल्क दुई देशबीचको आर्थिक सहकार्यको वास्तविक अवस्थासँग मेल नखाने प्रतिक्रिया दिएका छन्।
एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटकी वेन्डी कटलरका अनुसार अमेरिकी व्यापार नीतिबाट प्रभावित धेरै एसियाली साझेदार मुलुकले चीनलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेर्ने गरेका छन्। उनीहरूले अमेरिकाको कारबाहीको मुख्य निशाना आफूहरू नभई चीन हुनुपर्ने अपेक्षा राखेको उनको भनाइ छ।
उता, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले चीनले आफ्नो आन्तरिक खपतभन्दा बढी उत्पादन गर्ने अमेरिकी दाबी अस्वीकार गरेका छन्। उनले नयाँ शुल्क प्रस्तावलाई राजनीतिक हेरफेरको संज्ञा दिँदै त्यसप्रति विरोध जनाएका छन्।
अमेरिका र चीनबीच व्यापार तनाव कायम रहेकै बेला दुवै देशका राष्ट्रपतिबीच गत साता भेटवार्ता भएको थियो। तर, आगामी जनवरी १० मा समाप्त हुन लागेको व्यापार युद्धविरामबारे कुनै नयाँ सहमति सार्वजनिक भएको छैन। यसले विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापारिक सम्बन्धमा थप अनिश्चितता सिर्जना गरेको छ।
ट्रम्प प्रशासनले व्यापार घाटा घटाउने र अमेरिकी उत्पादन तथा रोजगारीलाई प्राथमिकता दिने लक्ष्यसहित नयाँ शुल्क नीति अघि बढाएको छ। तर, यसले अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला, आयात–निर्यात लागत र विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने विषय आगामी दिनमा स्पष्ट हुँदै जानेछ।

